नेपालको कृषि खाद्य प्रणालीको स्थिति प्रतिवेदन जनवरी २०२४ | बुलेटिन नम्बर १४
२०२३ को नोभेम्बर देखि डिसेम्बर सम्म नेपालको मुद्रास्फीति दर पछिल्लो १२ महिनाको तुलनामा सबैभन्दा न्यून रह्यो । यस अवधिमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ भनेँ पछिल्लो महिनाको तुलनामा १.३६ प्रतिशतले घटेको छ । मुद्रास्फीतिमा आएको यो गिरावटले ग्रामिण तथा शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न घरपरिवारका लागि थप खाद्य पदार्थ तथा पोषणमा उनीहरुको पहुँच बढाउन सकारात्मक प्रभाव पार्ने छ ।
२०२३ नोभेम्बर महिनामा तरकारी, अण्डा, माछा, मासु, मध्यम चामल र पिठोको मासिक मूल्यमा सामान्य गिरावट देखिएको छ । तर, पछिल्लो महिनाको तुलनामा दाल, केरा र स्याउको मूल्यमा वृद्वि भएको छ । यो अवधिमा, नेपालमा विप्रेषण आप्रवाहमा वृद्वि भएको छ, यद्यपि, मध्य नोभेम्बर देखि मध्य डिसेम्बर सम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति लिने नेपालीहरुको संख्या घटेको छ । विप्रेषणमा भएको वृद्विले उपभोग्य वस्तुमा खर्च बढाउन योगदान गर्ने आशा गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनका अनुसार पछिल्लो वर्षको तुलनामा २०२३ मा बाढी जस्ता प्राकृतिक प्रकापका घटनाहरूमा भएको कमी तथा समयमा नै मलखादको उपलब्धताका कारण आर्थिक वर्ष २०२३/२४ मा धानको उत्पादनमा वृद्वि भएको छ। यद्यपि, हिउँदे मौसम आउँदै गर्दा, बालीको उत्पादन बढाउन मलखादले महत्वपुर्ण भूमिका निर्वाह गर्ने तर, मधेश प्रदेशमा रहेको डीएपी मल (डाइमोनियम फस्फेट) र पोटास मल ( म्युरीएट अफ पोटास) को उच्च मूल्य साथै सुदूरपश्चिममा रहेको युरिया मलको उच्च मूल्यका कारण यी प्रदेशका कृषकहरु माथि नकारात्मक प्रभाव पर्न सक्दछ ।